२०८२ वैशाख २९, सोमवार , १०:४०:०६ बजे

Sajhamanch
'

दीपकराज गिरीको सल्लाह : पैसा कमाउने उद्देश्यले कलाकारितामा नआउनु

सोमवार, वैशाख २९, २०८२

काठमाडौँ । अभिनेता दीपकराज गिरीले पैसा कमाउने उद्देश्यले कलाकारिता क्षेत्रमा नआउन नयाँ पुस्ताका कलाकारलाई आग्रह गरेका छन् । डिजिटल मिडिया अलायन्स (डिम्यान)ले आइतबार आयोजना गरेको छलफल सत्रमा उनले यी सुझाव दिए ।

कलाकारिता क्षेत्र कठिन भएको उल्लेख गर्दै उनले यो क्षेत्रमा आउन चाहनेले सडकमा सुत्न र भोकै बस्न सक्नुपर्ने बताए ।उनले भने, ‘कोही मानिस कलाकार बन्न चाहन्छ । पछिल्ला दिनमा मैले के भन्न थालेको छु, भने यदि तिमी पैसा कमाउन चाहन्छौ भने यो क्षेत्रमा आउँदै नआऊ ।’

उनले अघि भने, ‘तिमी एक्टिङ गर्न चाहान्छौ र सडकमा पनि सुत्न सक्छौ भने वेलकम । भोकै बस्न चाहान्छौँ रु आऊ । त्यसपछि मात्रै सफल पनि हुन सकिन्छ, पैसा पनि कमाउन सकिन्छ, नाम पनि कमाउन सकिन्छ ।’ उनले संघर्ष गरेर ५ प्रतिशत मानिस मात्रै सफल भएको बताए ।आफूले बुझेको क्षेत्रमा मात्रै लगानी गर्न उनले आग्रह गरे । ‘आफू जुन क्षेत्रमा छ, त्यसमै विज्ञता हासिल गर्नु, त्यसमै बढी फोकस हुनु र त्यहीसँग सम्बन्धित क्षेत्रमा लगानी गर्नु सबैभन्दा राम्रो कुरा हो जस्तो लाग्छ’ उनले भने ।

‘त्यो भए त्यसमा अनुभव, ज्ञान हुन्छ । तर नेपालको सन्दर्भमा अलिक फरक छ जस्तो लाग्छ । भौगोलिक अवस्थामा पनि भर पर्छ कि तिमी कहाँ छौँ, कहाँबाट है, तिमी कुन उद्योगमा छौ’ उनले भने, ‘सिनेमाकर्मीबाट मैले मेरो करिअर सुरु गरेँ । त्यसपछि मैले मेरा लागि राम्रो बिजनेस के हुन सक्ला भनेर हेर्दा हल हुन सक्छ । किनकि त्यो त्यस्तै त्यस्तै बिजनेस हो ।’

सामाजिक संजालले दर्शकमा धैर्यता कम हुँदै गएको उनले बताए । दर्शकको रुचिअनुसार नै मेकरले कन्टेन्ट बनाउनुपर्ने उनले बताए । कथावाचन शैलीमा मेकरले चुनौति महसुस गरेको बताउँदै उनले पहिलो दृश्यबाटै कथा भन्नुपर्ने बताए ।

‘मान्छे फिल्म चलिराख्या छ । टिकटक हेरेर बसेका हुन्छन् । यसले हामीलाई चुनौति छ । अब स्टोरी भन्ने तरिका फरक हुनुपर्छ । सोहीअनुसार च्यालेन्ज महसुस गरेका छौं’ उनले भने, ‘पहिला सिनेमाको क्रेज थियो । भारत र हलिउडमा पनि त्यही खालको चुनौति छ ।’

उनले प्रशस्त ज्ञान नभइकन गरेको लगानी जोखिमपूर्ण हुने बताए । ‘हाम्रोजस्तो देशमा, जहाँ धेरै कुराको अस्थिरता छ’ उनले भने । दीपकले आगामी फिल्म ‘पाँच पाण्डव’मा अभिनय गर्ने चर्चा छ, यद्यपि यसको स्वतन्त्र पुष्टि भैसकेको छैन ।

सम्बन्धित खबर