२०८२ वैशाख २५, बिहिवार , ०१:५७:३५ बजे

Sajhamanch
'

देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित पुरातनवादी तत्त्वहरू छटपटाएका छन् : प्रधानमन्त्री ओली

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरातनवादी तत्त्वहरू देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित रहेको बताएका छन् ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरातनवादी तत्त्वहरू लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दै हिँडेको बताएका हुन् ।

उनले भने, ‘यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्त्वहरू छटपटाएका छन् । उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।’

प्रधानमन्त्री ओलीले अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेको बताए । उनले आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्न समेत पछि नपरेको बताए ।

‘अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता र संकीर्णता बोक्नेहरूले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसैगरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन,’ उनले भने ।

मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरूमा निराशा छाउनुको कारण के होला रु भन्ने प्रस्तोता विमल गौतमको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केही फेसबुक र युट्युब र आँखामा कालो पत्ती बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।’

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे ।

सम्बन्धित खबर