२०८२ वैशाख २२, सोमवार , ०८:३५:२४ बजे

Sajhamanch
'

कमलको बहुउद्देश्यीय सहकारी कृषि फार्मको वार्षिक साधारणसभा आजमात्र !

सोमवार, वैशाख २२, २०८२

कमल । तीनवटा बहुउद्देश्यीय सहकारी संस्थाहरु मिलेर झापाको कमल गाउँपालिका १ मा सञ्चालन गरेको बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फार्मको पाँचौं वार्षिक साधारण सभा आज सम्पन्न गरिएको छ ।

कमलमा सञ्चालनमा रहेका तीनवटा सहकारी संस्थाहरु पूर्व नेपाल, नवोदय र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाद्वारा बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फार्म सञ्चालन गरेका हुन् ।

बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्मले कमल गाउँपालिका वडा नम्वर १ मा आफ्नो स्वामित्वमा रहेको तीन कठ्ठा जमिन बाहेक १८ जना जग्गा धनीबाट ५२ विघा ५ कठ्ठा १४ धुर जमिनमा यान्त्रिकरणको प्रयोग गरी धान खेती गर्दै आएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना झापाका प्रमुख रबिन्द्र सुवेदीले वार्षिक साधारण सभाको उद्घाटन गरिदिएका हुन् । उद्घाटन मन्तब्य राख्दै सुवेदीले ‘सहकारीले बचत र कर्जाको कारोबार मात्र गर्ने होइन, उत्पादनतर्फ लाग्नु पर्छ भन्ने राज्यको नीति अनुसार तीनवटा संस्थाले सुरु गरेको व्यवसाय अत्यन्तै राम्रो अभ्यास’ भएको बताए ।

सहकारीहरु बीच संयुक्तरुपमा सञ्चालन गरिने कार्यक्रमहरु पनि सफल हुन्छन् भन्ने जिल्लाकै उदाहरण यो कृषि फार्म रहेको परियोजना प्रमुख सुवेदीले बताए । भने, ‘देशमा परिवर्तन गर्नु छ भने त्यो कृषिले मात्र सम्भव छ । सहकारीले अब समुदायका लागि काम गर्न आवश्यक छ ।’

कार्यक्रममा मन्तब्य राख्दै कमल गाउँपालिका वडा नं. १ का अध्यक्ष केदार कटुवालले समुदायको माग अनुसार नचल्ने सहकारीहरु अब क्रमशः विस्थापित हुँदै जाने बताए । अबको दिनमा अन्नबाली मात्र नभएर फलफूल र तरकारी बालीको उत्पादन तर्फ सहकारीहरुले लाग्नु पर्ने उनको सुझाव छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य शरणकुमार पराजुली, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपिलप्रसाद आचार्य, किसान विऊ उत्पादक कम्पनीका सञ्चालक शेषराज पौडेल लगायतले छोटो समयमा संस्थाले गरेको प्रगतिको चर्चा गरेका थिए ।

साधारण सभामा संस्थाका अध्यक्ष सीताराम ढकालले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए भने उक्त प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।

कार्यक्रम संस्थाका सचिव खगेन्द्र भण्डारीले सञ्चालन गरेका थिए भने पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले अतिथिहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

सहकारी संघ–संस्थाहरुको वार्षिक साधारणसभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र गरिसक्नु पर्नेमा १०औं महिना बित्न लाग्दा बल्ल गरिएको छ । यस्तो साधारण सभाले वैधता पाउँछ कि पाउँदैन ? कमल गाउँपालिकामा सहकारी ऐन जारी गरेको भए यसैमा निर्भर रहला ! तर संघीय सहकारी ऐनको भावनाअनुरुप चाहिँ यो विधिसम्मत भएको पाइन्न ।

सम्बन्धित खबर