
काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् ।
नाटकको मुख्य भूमिकामा रेखाले अभिनय गर्न लागेकी हुन् । यो नाटकको रिहर्सल र रिडिङ सुरु भैसकेको छ । रेखाले पनि केही दिनअघि सामाजिक संजालमा ‘रेखा कि मीरा’ लेखिएको पोस्टसहितको फोटो सेयर गरेकी थिइन् ।जेठ १५ गतेदेखि असार ७ गतेसम्म मंचन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित हुनेछ । नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ ।
नाट्य रुपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन । अन्य पात्रहरुको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ ।रेखाको डेब्यु हुने भएकाले पनि यो नाटक दर्शकमाझ प्रतीक्षित हुनसक्छ । फिल्म पठनपाठन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले स्थापना गरेको उक्त थिएटरलाई गत महिना अभिनेता राजेश हमालले शिलान्यास गरेका थिए ।
सोही दिन नाटक घर उद्घाटन हुने कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीले जानकारी दिए । उनका अनुसार उक्त थिएटरमा व्यवसायिक नाटक मंचन र एकेडेमीका विद्यार्थीले तयार पारेका नाटक पनि देखाइनेछ ।