
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
राष्ट्रिय सूचना आयोगले आज काठमाण्डौमा आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए।
मन्त्री गुरुङले नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएको भन्दै मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने बताए। उनले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै देशको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर गरे।
मन्त्री गुरुङले नेपालमा अहिलेसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी गराए।