
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए।
उनले विपदबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरू बनाउनुपर्ने आवश्यकता रहेको बताए।
विपदबाट संरचनाको क्षति हुन पर्खिने नभई क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए। उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे।
भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने उनले बताए। यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भने पनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था होइन। यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरू तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरू बनाउनुपर्ने आवश्यकता छ। भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर… । हाम्रा पहाडतिर प्रायः घरहरू कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता ढुंगाहरूमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ। अलिकति हल्लियो भने त्यो भत्किहाल्छ। धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरू बाँकी नै छन्। ती घरहरूलाई आफैले हरेक व्यक्तिले पनि आफ्ना घरहरूलाई सुरक्षित कसरी बनाउने ? भन्ने कुरामा ध्यान दिनुपर्छ।’
प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्बन गर्न जरूरी रहेको बताए।