
काठमाडौं । नयाँ वर्ष २०८२ को पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले बढेर २ हजार ६८९ दशमलव २२ विन्दुमा पुगेको छ ।
आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक र लगानी समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्सुरेन्स कम्पनी, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बलेफी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । गएको चैत ३१ गते ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ३२० वटा कम्पनीका २ करोड १८ लाख कित्ता शेयर ८ अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम एक महिनायताकै उच्च हो । यसअघि गएको फागुन २५ गते ९ अर्ब ९१ करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।