२०८२ वैशाख ६, शनिवार , ०५:०१:०२ बजे

Sajhamanch
'

बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएको छ : अर्थमन्त्री

बिहिवार, चैत २८, २०८१

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक वर्षमा बिना अध्ययनका करिब ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरि १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।

पौडेलले सीमित स्रोतको अत्यधिक सदुपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक वर्षको बजेट निर्माणमा पनि सीमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे ।

उनले क्यालेन्डर बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए। संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उनको भनाइ छ ।

त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारबाहीका कारण मुलुक ग्रे लिस्टमा पुगेको भन्दै यसबाट निस्कने सन्दर्भमा समयबद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिए ।

उनले ग्रे लिस्टबाट बाहिर निस्कन दुई वर्षको समय रहे पनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको जिकिर गरे । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।

सम्बन्धित खबर