२०८२ वैशाख ६, शनिवार , ०७:५५:२३ बजे

Sajhamanch
'

प्रधानमन्त्रीले गरे पाणिनी सम्मेलनको उद्‌घाटन

बुधवार, चैत २७, २०८१

बुटवल। अर्घाखाँचीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पाणिनी सम्मेलन सुरु भएको छ ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलन उद्घाटन अघि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्रीलाई स्वागत गरेका थिए ।

हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहासमा उल्लेख छ। पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल मानिन्छ ।

पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ । यिनै सूत्रको आधारमा संहिता, गुण, वद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन्।

२०७६ सालमा नेपाल सरकारले छनोट गरेका देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो पाणिनी । पहलमा सम्मेलन भएको हो ।

सम्मेलनले विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमिको प्रचारप्रसार सँगै संसारभर पाणिनीलाई चिनाउन टेवा पुग्ने विश्वास गरिएको छ ।

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेकाले विश्वभर चिनाउन पाणिनी सम्मेलनको आयोजना गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए ।

सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।

सम्बन्धित खबर