
झापा । झापाको दमक चैत ३० मा आयोजना गरिएको सत्तारुढ नेकपा (एमाले) जनजागरण सभा जनताको साझा कार्यक्रम रहेको पार्टीका कोशी प्रदेश इञ्चार्ज शेरधन राईले बताएका छन् ।
जनजागरण सभाको तयारी बारे अवगत गराउन आज दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जनाएका हुन् । चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने नेता राईको भनाई छ ।
एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनु पर्यो भन्ने पत्रकारको जिज्ञासा बारे बोल्दै पार्टी स्थायी कमिटीका सदस्य राईले भने – ‘लोकतन्त्र र गणतन्त्र सत्तामा रहेका दलहरुको मात्र विषय होइन । यो जनातको मुद्धा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धी जोगाउनसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो । त्यसैले सडकमा आउँछौं ।’
संविधानको रक्षाका लागि सडकमा आएको उनको धारणा छ । राष्ट्रहितका लागि निर्णायक शक्ति एमाले भएकाले उपलब्धी रक्षाका लागि जनसभाको आयोजना गरिएको उनले प्रष्ट पारे ।
एमाले जनताको आवाज बोकेर हिंड्ने पार्टी भएकाले चैत ३० गते सबैलाई सहभागी हुन आव्हान गर्दछौं, उनले भनेका छन् ।
दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको जनाइएको छ । कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक पार्टीका स्थायी कमिटी सदस्य राईले जानकारी दिए ।
जनसभाको प्राविधिक कामहरु धमाधम भइरहेको बताउँदै उनले चैत ३० गते सबै झापाबासी जनतालाई सहभागिताका लागि आव्हान पनि गरेका छन् । जनसभामा सहभागीहरु आफ्नै व्यवस्थापनमा आउने गरी मातहतलाई सर्कुलर गरिएको पनि राईले बताए ।
जन जागरण सभाको प्रचारका लागि चैत २९ गते मोटरसाइकल र्यायी आयोजना गरिएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे-स्कुलचौन – गौरीगञ्ज – गौरादह हुँदै पाँडाजुँगीमा समापन हुने छ । ३० गतेको जनसभामा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली मूल वक्ता रहने जनाइएको छ ।