२०८१ चैत १९, मङ्गलवार , ०६:२७:१० बजे

Sajhamanch
'

एसईईलाई लक्षित गरी गणतन्त्रवादी र राजावादीले संशोधन गरे प्रदर्शन समय

शुक्रवार, चैत १५, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्षित गरेर गणतन्त्रवादी र राजावादी दुवै समूहले प्रदर्शनको समय संशोधन गरेका छन् । यसअघि ११ बजेदेखि प्रदर्शन सुरु गर्ने भनिएकोमा एकघण्टा पछि सारिएको छ ।

एसईई परीक्षा ११ बजे सकिने र १२ बजेभित्र सबै परीक्षार्थीहरु घरघरमा पुग्ने अनुमानको आधारमा १२ बजेपछि मात्रै प्रदर्शन सुरु गर्ने तयारी छ ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालका अनुसार, पहिले ११ बजे नै भक्तपुरबाट हिँड्ने गरी तालिका बनाइएकोमा अहिले साढे ११ बजे पुरानो ठिमीको कमेरोटारमा भेला हुने भन्ने तय भएको छ ।

‘एसईई परीक्षाका कारण स्कुल बसहरुलाई असहज नहोस् भन्ने हिसाबले साढे ११ बजे भेला भएर भक्तपुरबाट १२ बजेबाट हिँड्ने गरी व्यवस्थापन गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि भक्तपुर तिनकुने हुँदै चाबहिल, गोंगबु लगायतका क्षेत्रमा प्रदर्शन हुन्छ ।’

समितिले तिनकुनेमा सभा राखेको छ । समितिका संयोजक नवराज सुवेदीले आइतबार पत्रकार सम्मेलन गरेर शुक्रबारदेखि हुने प्रदर्शनको मुख्य उद्देश्य संवैधानिक राजसंस्थाको पुनस्र्थापना, सनातन हिन्दू अधिराज्यको पुनस्र्थापना, संघीयता खारेजी र भ्रष्टाचार नियन्त्रण भएको बताएका थिए ।

त्यसका लागि उनले नेपाल ऋषिको उपाधि प्राप्त डा. जगमान गुरुङको नेतृत्वमा सल्लाहकार समिति र राप्रपा सांसद् धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति घोषणा गरेका थिए ।

त्यसमा देशभरबाट १ हजार १११ जना सदस्इ रहेको भनिएको छ । समितिमा कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको भनिएको छ ।

शुक्रबारै गणतन्त्रको पक्षमा नेकपा माओवादी केन्द्र समेतका दलहरु रहेको समाजवादी मोर्चाले समेत शक्ति प्रदर्शन गर्दैछ । उनीहरुका लागि भृकुटीमण्डपमा सभा गर्ने स्थान तोकिएको छ ।

सम्बन्धित खबर