
विराटनगर । मोरङका चार क्याम्पसको स्ववियु सभापतिमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले जितेको छ ।
मोरङमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ८ वटा क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार वटा क्याम्पसको स्ववियु जितेको हो ।
आंगिक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पसमा र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ । डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साहको प्यानलै निर्वाचित भएको छ । नर्सिङ क्याम्पसको सभापतिमा पनि अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन् ।
कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की निर्वाचित भए । मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका सुजन घिमिरे निर्वाचित भए ।
केरावारीको खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा विजयी भएका छन् । सुन्दरहरैचाको सुकुना बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुका एलिस ओझा विजयी भएका छन् ।
पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका केशर राई र उर्लाबारी बहुमुखी क्याम्पसको सभापतिमा पनि नेविसंघकै पोषण आचार्य निर्वाचित भएका छन् ।
महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा भने मतगणना जारी छ ।