
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।
गएको भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए।
मन्त्री पौडेलको उपस्थितिमा भएको सम्झौतापछि अहिलेसम्म १० वटा सङ्घीय अस्पतालका पाँच सय उपकरण मर्मत भएको हो ।
६६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा ५०० मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले बताउनुभयो । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उहाँले जानकारी दिए।
बजार मूल्य सर्वेक्षण गर्दा २४ करोड ३० लाख रुपैयाँ लाग्ने जानकारी आएकामा २३ लाख रुपैयाँमै हुनु भनेको निकै कम खर्चमा ती उपकरणको मर्मत भएका उनको भनाइ छ ।
यसैबीच करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट आएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने अभियानमा सबैको साथ र सहकार्य निरन्तर रहने उनको भनाइ छ ।