
झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड (कर्णाली साकोस)ले आज आइतबार बिर्तामोडमा रजत महोत्सव विशेष कार्यक्रम गरी संस्थापक अध्यक्षसहित शेयर धनीहरु एवम् कर्मचारीहरुलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले उनीहरुलाई सम्मान पत्र तथा मायाको चिह्नो हस्तान्तरण गरेका हुन् ।
सम्मान अर्पण पछि मन्तब्य राख्दै प्रमुख अतिथि मन्त्री कार्कीले केही सहकारीका सञ्चालक र कर्मचारीहरुले बद्मासी गरेका र दुरासयले कारोबार गरेकै कारण यसको नियमनका लागि सरकारले कठोर प्रकृतिको कानून बनाउनु परेको बताए ।
‘स्वनियमनमा सञ्चालन हुने सहकारीका ठगलाई राज्यले कारबाही गर्न हुँदैन भनेर कोकोहोलो छ’ मन्त्री कार्कीले थपे, ‘तर यसलाई चुस्त ब्यवस्थापन गर्न राज्य कठोर कदम चाल्न बाध्य भएको छ ।’
सो कार्यक्रमका विशिष्ट अतिथि एवम् कर्णाली साकोसका संस्थापक अध्यक्ष कमलबहादुर बस्नेतले सम्मान ग्रहण गर्नुपूर्व मन्तब्य राख्दै कर्णाली साकोसलाई वास्तवमा नै कर्णाली नदीको उपमा दिए ।
सोही संस्थामा आवद्ध भएर काम गरेका मानिसहरुले तीनवटा साकोस र दुईवटा लघुवित्त जन्माएर सञ्चालन गरिरहेकाले ती भंगालाहरुको जन्म कर्णालीबाटै भएको उनको भनाई थियो ।
‘नेपालको सहकारी अभियानमा कर्णाली साकोसको नाम अग्रपङ्तिमा रहेकाले यो संस्था सधैं उत्कृष्ट रहनुपर्छ र मात्र यसका भंगालाहरु पनि संङ्ला रहनेछन्’ संस्थापक अध्यक्ष बस्नेतको भनाई थियो ।
वि. सं. २०५७ सालदेखि ९ वर्षसम्म कार्यकारी अध्यक्ष रहेर बस्नेतले संस्थाको भवन निर्माणसहित १४ हजार शेयर सदस्य बनाएर २०६६ बाट विदा लिएका थिए । उनी हाल सिम्रिक साकोसका कार्यकारी प्रमुखका रुपमा कार्यरत छन् ।
रजत महोत्सव विशेष कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी, सहारा नेपाल साकोस लिमिटेडका लेखा सुपरीवेक्षण समितिका संयोजक उपेन्द्रप्रसाद ओली, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले मन्तब्य राखेका थिए ।
सो अवसरमा पत्रकार महासंघ झापाका अध्यक्ष गिरीलाई पत्रकार सम्मान गरिएको थियो । त्यस्तै, संस्थाको स्थापनाकाल २०५७ सालदेखि २०५८ सालभित्र सदस्यता लिई हालसम्म निरन्तर कारोबार गर्ने ४८ जना शेयर सदस्यलाई सम्मानसहित उत्कृष्ट सदस्य परिचयपत्र प्रदान गरिएको थियो ।
यस्तै, संस्थामा २० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरु डिल्लीराम बस्नेत, मनहरि निरौला, सन्तोषकुमार श्रेष्ठ, कृष्णलाल न्यौपाने, सुजता बस्नेत, गौरादेवी ओली, गंगादेवी राई, मञ्जु खत्री र नन्दादेवी बस्नेतलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गरेका थिए ।
सोही कार्यक्रममाझ तत्कालीन उपाध्यक्ष इश्वरीप्रसाद खरेलको स्मृतिमा पाँच लाख रुपैयाँको कर्णाली अक्षयकोषको घोषणा गरिएको छ । उक्त अक्षयकोषको ब्याजबाट सहकारी तथा सामाजिक अभियन्तालाई सम्मान गरिने समेत जानकारी दिइएको छ ।