
काठमाडौं । काठमाडौं विश्वको चौथो प्रदूषित शहर बनेको छ । यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १८५ मापन गरिएको छ । यसलाई स्वास्थ्यका हिसाबले अस्वस्थ मानिन्छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरका अनुसार विश्वको सबैभन्दा प्रदूषित शहरमा छिमेकी राष्ट्र भारत पहिलो नम्बरमा छ । भारतको वायु प्रदूषण २२८ एक्यूआई मापन गरिएको छ । यो अति अस्वस्थ सूचकांक हो ।
त्यस्तै दोस्रो नम्बरमा १८२ एक्यूआईसहित चीनको सांघाई शहर परेको छ भने बंगलादेशको ढाका १८६ एक्यूआई सहित तेस्रो नम्बरमा छ ।
नेपालमा भक्तपुर अस्वस्थ
नेपालमा भने भक्तपुर सबैभन्दा प्रदूषित शहर बनेको छ । वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म भक्तपुर १९७ एक्यूआई सहित सबैभन्दा वायु प्रदूषित शहर बनेको हो ।
त्यस्तै दोस्रो स्थानमा रहेको पोखराको वायु प्रदूषण १९१ मापन गरिएको छ । पोखरा केही हप्तायता वायु प्रदूषित शहरको रूपमा शीर्षस्थानभित्र पर्दै आएको छ ।
खुमल्टार १९५, शंखपार्क १८३, भैंसेपाटी १७४, भरतपुर १७१, धनगढी १७० र धुलिखेल १५१ एक्यूआईसहित वायु प्रदूषणका हिसाबले अस्वस्थ शहरभित्र परेका छन् ।
वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । त्यस्तै, ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।