
झापा । गएको वर्ष दक्षिण कोरियाको जन्मदर बढेको छ । दक्षिण कोरियाको जन्मदर गएको वर्ष झन्डै एक दशकमा पहिलो पटक बढेको सरकारी तथ्याङ्कले देखाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सरकारी निकाय तथ्याङ्क कोरियाले बुधवार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कले सन् २०२४ मा प्रति एक हजार जनामा जन्मने शिशुको सङ्ख्या ४ दशमलव ७ प्रतिशत रहेको देखाएको छ, यो सन् २०१४ पछिको पहिलो वृद्धि हो ।
प्रजननदर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या सन् २०२४ मा ० दशमलव ७५ पुगेको छ । यो सन् २०२३ को ० दशमलव ७२ को तुलनामा ० दशमलव ०३ ले बढी हो ।
सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार तीन सय जनाको जन्म भएको र यो अघिल्लो वर्षको तुलनामा आठ हजार तीन सय अर्थात् ३ दशमलव ६ प्रतिशतले बढी रहेको प्रतिवेदनलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
जनसङ्ख्याको अध्ययनमा जानकारी राख्ने कोरियाली अधिकारी पार्क ह्युन जियोङले कोभिड–१९ को महामारीपछि विवाहमा वृद्धि हुनुका साथै जनसाङ्ख्यिकीय अवस्थामा आएको परिवर्तनका कारण जन्मदरमा वृद्धि भएको बताए।
उनका अनुसार पछिल्लो एक दशकमा कोरियामा ३० वर्ष उमेर भन्दामाथिका मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।
दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिीय चुनौती प्रस्तुत गर्दछ ।
दक्षिण कोरियाले महिलाहरूलाई बढीभन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसङ्ख्या स्थिर कायम राख्न अर्बौं डलर खर्च गरेको छ । विशेषज्ञहरूका अनुसार बच्चा हुर्काउने उच्च लागत र सम्पत्तिको मूल्यदेखि प्रतिस्पर्धात्मक समाज कम जन्मदरका प्रमुख कारण मानिन्छन् ।
कामकाजी आमाहरूले आफ्नो पेशालाई कायम राख्दै घरको काम र बच्चाको हेरचाहको बोझ व्यवस्थापन गर्नु अर्को प्रमुख कारक भएको उनीहरूको भनाइ छ ।
दक्षिण कोरियाली सरकारले जन्मदर वृद्धिका लागि नगद अनुदान, ‘बेबीसिटिङ’ सेवा र बाँझोपनको उपचारमा सहयोग प्रदान गर्दछ । तर प्रजननदरले अहिलेसम्म आफ्नो दीर्घकालीन गिरावटलाई निरन्तरता दिएको छ ।