
काठमाडौं । आफ्नो परिवारलाई धम्काएको भन्दै कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।
रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूसहित दिदीहरूलाई पनि धम्की दिएकाले परिवार असुरक्षित भएको भन्दै उजुरी दिएको सजनले जनाएका छन् ।उनले सामाजिक संजालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गरेका छन् । दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कार्वाही गर्न उनले माग गरेका छन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको आरोप उनको छ ।हिजो सार्वजनिक भएको एक भिडियोमा पनि सजनले उजुरी दिने बताएका थिए । आफूले एन्जाइटीको औषधि लिइरहेको र पछिल्लो घटनाक्रमले आफू झनै मानसिक तनावमा परेको उनले बताएका थिए ।
गतसाता सजनसहित अर्का कमेडियन उत्सव सापकोटा, पडकास्ट सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो । यो विवादमा सजनले भिडियोबाट माफी मागिसकेका छन् । तर, सामाजिक संजालबाट त्यसपछि पनि धम्की आइरहेको सजनको भनाई छ ।