
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू पठाउन वा राजीनामा दिन निर्देशन दिएको छ ।
एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ ।
मस्कले कर्मचारीको अघिल्लो हप्ताको प्रगति बुझाउनका लागि चाँडै इमेल पठाउने भनेर सामाजिक सञ्जाल एक्समा लेखेको केहीबेरमा कर्मचारीहरूले इमेल पाएका हुन् । मस्कले उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइने उल्लेख गरेका छन् ।
मस्कले सरकारी खर्च कटौतीका लागि कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आएका छन् । कर्मचारीहरूलाई पठाएको इमेलमा ५ वटा बुँदामा गएको हप्ता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।
यसैबीच सङ्घीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी युनियनले इमेल पठाउने कामलाई क्रूर र अनादरपूर्ण भनेर आलोचना गरेको छ ।
युनियनका अध्यक्ष एभरेट केलीले विज्ञप्ति निकालेर मस्क र ट्रम्पले सङ्घीय कर्मचारी र उनीहरूको सेवालाई अवहेलना गरेको उल्लेख गरेका छन् ।
अर्बपति मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग आधिकारिक सरकारी निकाय होइन । तर ह्वाइट हाउसको स्वीकृतिमा अमेरिकी सङ्घीय पूर्वाधारहरूमा व्यापक परिवर्तनहरू गरिरहेको छ ।
आन्तरिक राजस्व सेवा, पेन्टागन र सङ्घीय उड्डयन प्रशासनलगायतका अन्य कैयौं निकायहरूबाट हजारौं सरकारी कर्मचारीलाई बर्खास्त गरिसकेको छ ।
मस्कले सन् २०२२ मा ट्विटर (अहिलेको एक्स) किनेपछि कर्मचारीहरूलाई गरेको जस्तै व्यवहार अहिले अमेरिकाका सङ्घीय कर्मचारीहरूलाई भइरहेको बीबीसीले जनाएको छ ।