
झापा । अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरोको निर्देशकमा भारतीय मूलका काश पटेल नियुक्त भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् ‘फेडरल ब्युरो अफ इन्भेस्टिगेशन’ (एफबीआई) को निर्देशकमा नियुक्त गरेका हुन ।
पटेलले एफबीआईको नवौं निर्देशक बन्न पाउँदा निकै सम्मानित महसूस गरेको सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् । तर रिपब्लिकन पार्टीका दुई जना सांसद सुसान कोलिन्स र लिसा मुर्कोस्कीसहित डेमोक्र्याटिक पार्टीका सबै सांसदले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका बीबीसीले जनाएको छ ।
पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उहाँसँगै काम गर्नुभएको थियो । ४४ वर्षका काश पटेलले वकिलका रूपमा पेशा शुरू गरेका थिए। उनीसँग हत्या, लागूऔषध र जटिल आर्थिक अपराधका मुद्दामा अदालतमा बहस गरेको अनुभव छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले अमेरिकी कार्यवाहक रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफका रूपमा पनि काम गरिसकेका छन् । उनी राष्ट्रिय सुरक्षा परिषद्मा राष्ट्रपतिका उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशक भइसकेका छन् ।