२०८१ पौष २०, शनिवार , ०८:४१:४४ बजे

Sajhamanch
'

यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

मङ्गलवार, पौष १६, २०८१

झापा । रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् ।

रुसमा बन्दी बनाइएका १५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले १८९ युक्रेनीहरु घर फर्किएको प्रतिक्रिया दिएको बीबीसीले उल्लेख गरेको छ ।

उनीहरूलाई दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह शहर मारियोपालमा चलेको युद्धको क्रममा रुसले बन्दी बनाएको थियो । सन् २०२२ को ‘मे’ महिनामा रूसले मारिपोललाई जित्नको लागि एक महिना लामो लडाइ लडेको थियो ।

रुसी रक्षा मन्त्रालयले हालै रिहा भएका रुसी सैनिकहरु बेलारुसमा रहेको र उनीहरुलाई चिकित्सा सहायता र आफ्ना परिवारसँग सम्पर्कको मौका दिइएको बताएको छ ।

रुसी मानवअधिकार आयुक्त तात्याना मोस्काल्कोवाले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दी रिहाइ हुदाँ उनीहरुले आफ्नो जन्मभूमिमा खुशीयाली साट्ने अवसर पाएका बताएका छन् ।

युक्रेनले द्वन्द्व शुरू भएदेखि राजधानी किएभसँगको सम्झौतामा रुसले सैनिक र सर्वसाधारणसहित तीन हजार ९५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै आठ हजार युद्धबन्दी रहेको अनुमान छ ।

सम्बन्धित खबर