२०८१ पौष ८, सोमवार , ०८:०९:४६ बजे

Sajhamanch
'

भद्रपुरस्थित प्रकाश एकताको वार्षिक साधारण सभा सम्पन्न

शनिवार, मंसिर २२, २०८१

भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान एवम वार्षिक गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरिएको हो ।

संस्थाको नीति तथा कार्यक्रमसहित वार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ९६९ महिला तथा ७१० पुरूष र अन्य ६ गरी १ हजार ६८५ शेयर सदस्यबाट ८८ लाख ४६ हजार शेयर पूँजी संकलन भएको जानकारी गराए ।

संस्थाका कोषाध्यक्ष चन्द्रबहादुर कार्कीले १ करोड ३८ लाख ५६ हजार ५१२ रूपैयाँको वार्षिक आय विवरण पेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले देशको उन्नतिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै स्वरोजगार निर्माणमा सहकारीले दिएको योगदान बिर्सनु नहुने बताइन् ।

सचिव शालिग्राम नेपालले सञ्चालन गरेको सो कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट शारदादेवी अधिकारी र कपिलमणि दाहाल, उत्कृष्ट बचत कारोबारी सदस्य सम्मानबाट माया पोखरेल र मिनबहादुर थापा मगर, उत्कृष्ट ऋण कारोबारी सदस्य सम्मानबाट रिता राजवंशी र नौतनप्रसाद पोखरेल, उत्कृष्ट सन्तति सम्मानबाट अर्विन थापा र प्रतिक्षा प्रधानलाई नगद २ हजार ५०० सहित सम्मान गरिएको थियो ।

सदस्य नुतन ढकालले स्वागत गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, कलवलगुरी सहकारीका अध्यक्ष नारायणप्रसाद चौंलागाई लगायतले धारणा राख्दै कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा सबैको साथ हुनुपर्ने बताए ।