शिवसताक्षी । असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मूल नारालाई आत्मसाथ गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले लैंगिक हिंसा विरुद्धको सचेतना तथा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माई पश्चिम क्षेत्र (ख) का एनमसीका कर्मचारी तथा विभिन्न उपसमितिका महिला सदस्यहरुलाई सहभागी गराएर शिवसताक्षीको दूधेमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले महिला हिंसा विरुद्धको १६ दिने अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
यस अभियानको उद्देश्य महिला र बालिका माथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि जनचेतना फैलाउनु, नीतिगत सुधारका लागि दबाव दिन र पीडितलाई सहयोग पुर्याउनु हो ।
एनएमसीे पनि समाजप्रति उत्तरदायी बन्दै महिला माथि हिंसाको नियन्त्रण तथा न्यूनीकरणका लागि आफ्नै संस्था कर्मचारीहरुलाई सचेतना तथा अभिमुखीकरण गराइएको निवर्तमान अध्यक्ष उप्रेतीले जानकारी दिए ।
हाम्रो समाज धेरै यस्ता घटनाहरु हुन्छन्, हाम्रा सञ्चालक तथा कर्मचारीहरुले पनि यहाँबाट पाएको ज्ञान सदुपयोग गर्दै समाज महिला हिंसा विरुद्ध लाग्नुपर्ने उनको जोड थियो ।
अभिमुखकीकरणमा कानुनी परामर्शदाता तारा बाराकोटीले सहजीकरण गरेकी थिइन् । एनएमसी महिला सशक्तिकरण उपसमिति संयोजक कविता पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फाल्गुनन्द सेवा केन्द्र प्रमुख सविना बाँस्कोटाले गरेकी थिइन् ।