काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती रहेको बताएका छन्।
दिगो पूर्वाधारका लागि जियोटेक्निक्स कार्यक्रम बिहीबार उद्घाटन गर्दै उनले नेपालमा जलवायु परिवर्तन, भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपले धेरै प्रभाव पारेको भन्दै जियोटेक्निक्स प्रयोगमा चुनौती देखिएको बताएका हुन्।
‘नेपालमा भूकम्प, बाढी पहिरोले कति धेरै असर पारेको छ। यसको साथै जलवायु परिवर्तनले पनि पछिल्लो समय देशमा धेरै परिवर्तन गरेको छ,’ उनले भने, ‘नेपालमा विज्ञान, इन्जिनियरिङ र जियोइन्जिनियरिङको क्षेत्रमा धेरै चुनौती छन्।’
विकासोन्मुख राष्ट्रको रूपमा नेपाल प्राकृतिक घटना मात्र नभई पछिल्लो समय अव्यवस्थित सहरीकरण, नदी किनारको अतिक्रमण, अपर्याप्त डिजाइन मापदण्ड र निर्माण प्रविधिको कारणले पनि पीडित हुनुपरेको उनले बताए।
‘मलाई आशा छ कि यो अन्तर्राष्ट्रिय सम्मेलनले हाम्रा युवा र अभ्यास गर्ने भू–प्राविधिक इन्जिनियरहरू र भू–वैज्ञानिकहरूलाई विश्व प्रविधि, दिगो विकासबारे जान्नको लागि उपयुक्त मञ्च प्रदान गर्नेछ,’ उनले भने।
यस सम्मेलनमा २५ भन्दा बढी देशका १५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि र ३०० भन्दा बढी सहभागी छन्।