२०८१ कार्तिक २९, बिहिवार , ११:३६:४० बजे

Sajhamanch
'

कर्णाली साकोसको इकाइगत साधारणसभा सुरु, विशेष उपचार कोषका सदस्यहरुलाई सुविधा प्रदान

आइतवार, कार्तिक २५, २०८१

झापा । मुलुककै ठूलोमध्येको एक तथा कोशी प्रदेशको तेस्रो ठूलो सहकारी संस्था झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आजदेखि आफ्नो २४औं वार्षिक साधारणसभा सुरु गरेको छ ।

कोशी प्रदेशका तीनवटा जिल्ला झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी आजदेखि इकाइगत साधारणसभा सुरु गरेको हो ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्यमा आज आइतबार इकाई नं. १ बिर्तामोड (क) को पहिलो इकाईगत साधारणसभा गरिएको हो । साधारणसभामा संस्थाका बिर्तामोड, सैनिकमोड, गरामनी, लक्ष्मीपुर, बुट्टाबारी र राजगढ गरी ६ वटा सेवा केन्द्रका सेयर सदस्यहरुलाई सहभागी गरिएको जनाइएको छ ।

साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तको वास्तविक वित्तीय विवरण प्रस्तुत गर्दै ५६ हजार ६६८ जना शेयर सदस्यहरुबाट ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ शेयर पूँजी तथा निक्षेप बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको जनाए ।

कर्णाली साकोसमा आवद्ध शेयर सदस्यहरुमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको र ३ अर्ब ७६ करोड ८० लाख ४८ हजार १५६ रुपैंयाँ ऋण लगानीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ भने संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको प्रतिवेदनमा जनाइएको छ ।

अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ ह्जार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न समिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने उल्लेख छ ।

सो साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष शर्माले सहकारी संस्थाहरुबाट लिएको ऋण तिर्नु पर्दैन, सरकारले मिनाहा गरिदिन्छ भनेर फैलाइएको भ्रममा विश्वास नगर्न सहकारीका सदस्यहरुलाई सुझाव दिए । कुनै पनि अफवाहका पछि नलाग्न र आफ्नो संस्थालाई रचनात्मक बनाउन सल्लाह दिँदै उनले कर्णाली साकोसका विषयमा अहिलेसम्म बजारमा नकारात्मक चर्चा नभएको तथा कसैले पनि बचत फिर्ता नदिएको भनी वडामा निवेदन पेस गरी उजुरी नगरेकाले ढुक्कसँग कारोबार गर्न सकिनेमा आफू विश्वस्त रहेको बताए ।

संस्थाका सचिव भूपाल बस्नेतले सञ्चालन गरेको सो साधारणसभा समारोहमा आमन्त्रित अतिथि एवम् सहभागी सदस्यहरुलाई उपाध्यक्ष रामकुमार गौतमले शाब्दिक स्वागत गरेका थिए ।

समारोहमा संस्थाको विशेष उपचार कोषमा आवद्ध सदस्य र तिनको परिवारमा बिरामी भई उपचार गर्दा भएको ४० प्रतिशत खर्च फिर्ता गरिएको थियो ।

उपचार सुविधा रकम प्राप्त गर्ने विशेष उपचार कोषका सदस्य यशोदा चापागाईंलाई ४० हजार ६०० रुपैयाँ प्रदान गरिएको छ । उनका छोराको मिर्गौला उपचार गर्दा भएको खर्च रकम सुविधा वापत प्राप्त गरेकी हुन् ।

यस्तै अर्का सदस्य दीपा चौहानलाई निमोनियाको उपचार गर्दा भएको खर्चको ४० प्रतिशतवापत ३५ हजार ३०० रुपैयाँ, पित्तथैलीको शल्यक्रिया गराएकी शान्ता तामाङलाई ३३ हजार ३०० रुपैयाँ, झुनादेवी सुवेदीलाई १५ हजार र नरेन्द्रप्रसाद ओलीलाई १० हजार २०० रुपैयाँ उपचार सुविधा हस्तान्तरण गरियो ।

सम्बन्धित खबर