२०८१ कार्तिक ६, मङ्गलवार , ११:२८:३५ बजे

Sajhamanch
'

अध्यादेशप्रति प्रधानमन्त्री ओलीको प्रष्टीकरण- कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन

मङ्गलवार, कार्तिक ६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर नेकपा (एमाले) मा मिलाउने योजना नरहेको बताएका छन्। सोमबार पाँच विपक्षी दलहरूको ज्ञापन पत्र बुझ्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले यस्तो बताएका हुन्।

‘विगतमा नेकपा (एमाले) लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुनसक्छ। तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरूपमा काम गर्ने विषयमा समान मत देखिएको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा मागपत्र र सुुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षणपत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको अवगत गराएका थिए।

प्रधानमन्त्री ओलीले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरूसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गरे।

ज्ञापनपत्र बुझाउने क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी थिए।

सम्बन्धित खबर