२०८१ कार्तिक ४, आइतवार , ०७:१४:२९ बजे

Sajhamanch
'

रोलिङ च्यालेन्ज कप २०८१ : आयोजक रोलिङको उत्कृष्ट सुरुवात

शनिवार, कार्तिक ३, २०८१

मेचीनगर । आयोजक रोलिङ क्लबले धुलाबारीमा आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आज शनिबार रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५–२ गोल अन्तरले हराउँदै शानदार जित निकालेको हो । जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, खेलको २५औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४०औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे ।

खेलको ५८औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गर्दै फराकिलो जित निश्चित गराए ।

एपिएफका लागि खेलको ३३औँ मिनेटमा समिर दर्जी कार्की र खेलको इन्ज्युरी समयमा कुमार राईले गोल फर्काए । खेलको प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए । उनले नगद पाँच हजार र ट्रफी पाए ।

उनलाई मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाल, खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरे ।

क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुभकामना मन्तब्य व्यक्त गर्दै आगामी संस्करणमा पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अध्यक्ष नेम्वाङले स्वागत गर्दै औचित्य माथि प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सचिव महेश खड्काले गरेका थिए ।

प्रतियोगिताको दोस्रो खेल दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ ।

धुलाबारी माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव महेश खड्काले जानकारी दिएका छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछन् ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबर