काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरे।
सो अवसरमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको विकास एवं स्थायित्वको एउटा आधार रहेको बताए ।
उनले निर्वाचनकै माध्यमबाट जनताले लोकतान्त्रिक हक अधिकारको प्राप्ति र उपयोग गर्न सक्ने हुँदा यो लोकतन्त्रको सुन्दर र अपरिहार्य पक्ष भएको धारणा व्यक्त गरे।
राष्ट्रिय महिला आयोगले पनि आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गरेको छ।
शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेकी हुन्।
प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले धेरै प्रयासका बावजुद केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताए।
‘जनजीवनका अन्य महत्वपूर्ण क्षेत्रमा महिलाको उपस्थिति र योगदानलाई अझ प्रभावकारी माध्यमबाट सुनिश्चित गर्नुपर्ने देखिएको छ, आगामी दिनमा त्यसमा आयोगले अझ सशक्त र प्रभावकारी रुपमा काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भने।