२०८१ पौष ६, शनिवार , ०९:०४:५८ बजे

Sajhamanch
'

बङ्गलादेशसँगको टेस्ट शृङ्खलामा भारतको ‘क्लिन स्वीप’

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । बङ्गलादेशसँगको दुई खेलको टेस्ट क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा भारतले बङ्गलादेशलाई ७ विकेटले हरायो ।

बङ्गलादेशले दिएको ९५ रनको लक्ष्य भारतले पाँचौं दिनको खाना समयपछि ३ विकेट गुमाएर भेटायो । भारतका यशस्वी जैसवालले ५८ रन बनाए । बङ्गलादेशका मेहदी हसन मिराजले २ विकेट लिए ।

दोस्रो पारीमा बङ्गलादेश १४६ रनमा अल आउट भयो । बङ्गलादेशका शादमन इस्लामले ५० रन बनाए । भारतका जसप्रीत बुमराह, रविचन्द्रन अश्विन र रवीन्द्र जडेजाले समान ३ विकेट लिए ।

यसअघि कानपुरमा टस हारेर ब्याटिङ गरेको बङ्गलादेशले मोमिनुल हकको शतकमा पहिलो पारीमा २३३ रन बनायो । भारतका बुमराहले ३ तथा मोहम्मद सिराज, अश्विन र आकाश दीपले समान २ विकेट लिए ।

भारतले पहिलो पारीमा जैसवाल र केएल राहुलको अर्धशतकको मद्दतमा ९ विकेट गुमाएर २८५ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो ।

दोस्रो पारीको ब्याटिङ गर्ने क्रममा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा छिटो ५०, १००, १५०, २०० र २५० रन बनाउने कीर्तिमान बनाएको थियो । दोस्रो टेस्टको दोस्रो र तेस्रो दिन वर्षा बाधक बने पनि भारतले खेल जित्यो ।

भारतले पहिलो टेस्ट २८० रनले जितेको थियो । अब भारत र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुनेछ ।

सम्बन्धित खबर