बिर्तामोड । भारती बन्धु एकता समाज नेपालको प्रथम झापा जिल्ला भेलाले मानबहादुर भारतीको अध्यक्षता जिल्ला नेतृत्व चयन गरेको छ । आज बिर्तामोड– २ चारपानेमा आयोजित बन्धु भेलामा ८ जना प्रतिभाशाली भारती बन्धु ब्यक्तित्व एवम् ८ जना ज्येष्ठ नागरिकलाई सम्मान पनि गरेको छ ।
प्रथम भेलाले मानबहादुर भारतीको अध्यक्षतामा महिला उपाध्यक्ष सीता भारती र उपाध्यक्ष लक्ष्मी भारतीलाई जिल्ला नेतृत्वमा सर्वसम्मत चयन गरेको छ । त्यस्तै समितिको सचिवमा सुवेश भारती, कोषाध्यक्षमा डिल्लीराम भारती र सदस्यहरुमा रामबहादुर भारती, राजकुमार भारती र जगतबहादुर भारती चयन भएका छन् ।
समाजको सोही भेलामा भारती परिवारका प्रतिभाशाली ब्यक्तित्व एवम् ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । भारती बन्धु भेलामा ८ जना प्रतिभाशाली ब्यक्तित्व एवम् ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा डा. सोनु भारती, बालगायक अश्विन भारती, जनप्रतिनिधि राजुजंग भारती, पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती, जनप्रतिनिधि सुशिला गिरी भारती, कमल भारती, प्रेम भारती, ज्ञानबहादुर भारती, जनप्रतिनिधि सूर्यमान भारती छन् ।
त्यस्तै ७५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरु भीममाया भारती, गुनमाया भारती, प्रभुराम भारती, दिलकुमारी भारती, जगतबहादुर भारती, प्रभाकर भारती, अम्बरबहादुर भारती र सरस्वती भारती सम्मानित भए ।
समाजको सोही भेलाले पाँच बुँदे घोषणा पत्रसमेत जारी गरेको छ । घोषणापत्रमा भारती समाजले देशभर आएको बाढी पहिरो र डुवानबाट भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । दशनामी जातिलाई छुट्टै समावेशी कोटा कायम गरेर आरक्षण प्रदान गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको छ ।
भारती थर भएको जातिलाई खस दशनामी जातिमा सचिकृत गर्न जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार तथा राष्ट्रिय समावेशी आयोगमा निवेदन गर्ने पनि घोषणापत्रमा उल्लेख छ । बहुलजाती, भाषा, धर्म संस्कृतियुक्त राष्ट्रको संविधानको रक्षा र सम्मान गर्ने पनि समाजले घोषणापत्रमा समेटेको छ ।
सो कार्यक्रममा बाल गायक अश्विन भारती, गायक अनुज भारती र सीता भारतीले गीत गाएका थिए भने आमा दिदिबहिनी र दाजुभाइले नृत्य प्रस्तुत गरेका थिए ।
भारती बन्धु एकता समाज नेपालका केन्द्रीय अध्यक्ष उमेशचन्द्र भारतीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा नेपाल दशनामी समाज झापाका महिला अध्यक्ष पार्वता गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्यानबहादुर भारतीले शाब्दिक स्वागत गरेको सो कार्यक्रममा प्रमुख अतिथि पार्वता गिरी, बिराटनगरका प्रतिनिधि सुवास भारती, सुनसरीका प्रतिनिधि लक्ष्मी भारती र झापाका टेकप्रसाद भारतीले सान्दर्भिक मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन दिक्षा भारतीले गरेकी थिइन् ।