काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे।
उनले भने, ‘हामी जोजो, जुनजुन ठाउँमा छौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिनँ भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन। कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ। सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ। त्यो दिशामा म सबै निकायका प्रमुखहरूलाई र त्यसमा रहनुभएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु।’
कोही पनि निकायको प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले बताए। उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताए।
उनले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए। मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे। उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए।
मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए।
‘हामी हाम्रो विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढ्नेछौं। हामी हाम्रो जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहन्छौं। निजी क्षेत्र अघि नलागेसम्म हाम्रो मन्त्रालयले कुनै काम गर्न सक्दैन। निजी क्षेत्र अघिअघि र हाम्रो मन्त्रालय पछिपछि हुन्छ। त्यसका लागि तपाईंहरूलाई कुन प्रकारको नीति चाहिन्छ, कुन प्रकारको कानून चहिन्छ, हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुनेछ।’
मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानून बनाउन लाग्नुपर्ने बताए। निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रूपमा सकारात्मक रहेको उल्लेख गरे।