काठमाडौं । एन्फा महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले वालिङलाई आठ–शून्य गोलले हरायो । आर्मीका लागि चन्द्रा भण्डारीले ह्याट्रिक गरिन् ।
यस्तै विमला विके र अमिशा कार्कीले समान २ गोल गरे । आर्मीले एक गोल आत्मघाती उपहार पायो । यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।
एन्फा महिला लिगको आजको दोस्रो खेलमा सङ्कटा क्लब र बाग्मती युथ क्लब खेल्दैछन् । यो खेल अहिले दिउँसो ३ः३० बजे एन्फा कम्प्लेक्सको मैदानमा शुरू भएको छ । सङ्कटा तालिकाको छैटौं र बाग्मती युथ आठौं स्थानमा छ ।