२०८१ असोज ३, बिहिवार , ०८:५०:२९ बजे

Sajhamanch
'

नेपाल आदिवासी जनजाति नेत्रहीन संघ झापाले मनायो स्थापना दिवस

बुधवार, असोज २, २०८१

शिवसताक्षी । नेपाल आदिवासी जनजाति नेत्रहीन संघ जिल्ला जिल्ला कार्यसमिति झापाले तेस्रो वार्षिक साधारण सभा तथा १४औं स्थापना दिवस मनाएको छ ।

शिवसताक्षीको दूधेमा आज नेत्रहीन संघले पूर्व उपाध्यक्ष नरेन्द्रकुमार मेन्याङ्बोलाई सम्मान गर्दै साधारण सभा तथा स्थापना दिवस मनाएको हो । मेन्याङबोलाई योगदानमा आधारित सम्मान पत्र प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष भोजराज तामाङको अध्यक्षतामा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यमा उद्घाटित कार्यक्रममा अधिकांश वक्ताहरुले राज्यले दृष्टिविहीनहरुलाई उपेक्षा गरेको आरोप लगाए ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष अविरल लिम्बूले कम्तिमा पनि दृष्टिविहीनहरुलाई सरकारले रातो कार्डको व्यवस्था गर्नुपर्ने आवश्यकता दर्शाए । उनले भने, ‘हाम्रो हात खुट्टा छन्, तर हेर्ने आँखा छैन । त्यसैले रातो कार्डको व्यवस्था गर्न सरकारसँग माग गर्दछु । कतिपय हाम्रा साथीहरुले बजारमा गीत गाएर पेट पाल्नु पर्ने अवस्था छ । यसैले हामीलाई माया दया होइन अवसरको खाँचो छ ।’ उनले नेपाल नेत्रहीन संघ जिल्ला कार्यसमिति झापालाई ३ थान कुर्सी पनि प्रदान गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्कीले शिवसताक्षीमा दृष्टिविहीनहरुको तथ्यांक संकलन गरेर नगरपालिकामा बुझाउन आग्रह गरेकी थिइन् । नगरपालिकासँग पूर्ण तथ्यांक छैन, तथ्यांक नभएका कारणले दृष्टिविहीन नागरिक लक्षित कार्यक्रम गर्न समस्या भएको उनको भनाई थियो ।

नगरपालिकाले दृष्टिविहीनहरुलाई हिड्नको सहजताका लागि साहराको रुपमा सेतोछडी वितरण गर्दै आएको उपप्रमुख कार्कीले जानकारी दिइन् ।

साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा मानविकी संकाय तेस्रो वर्षमा अध्ययनरत दृष्टिविहीन सुरेस लिम्बूलाई छात्रबृत्ति रकम प्रदान गरियो । पाथीभरा समुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनेन्द्र तुम्बापोले नगद ९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति नेत्रहीन संघ र लाइफलाइन अस्पताल दमकबीच भएको सम्झौताका बारेमा जानकारी गराइएको थियो ।

लाइफलाइन अस्पतालले नेत्रहीन संघको सदस्यता कार्डका आधारमा दृष्टिविहीनहरुलाई उपचारमा ३० प्रतिशत छुट गरिदिने भएको सो सम्झौतामा उल्लेख छ ।

दृष्टिविहीनहरुका लागि वर्षमा एकपटक निःशुल्क स्वास्थ्य परीक्षण शिविर चलाउने र त्यसको व्यवस्थापनमा नेपाल नेत्रहीन संघले सहयोग गर्ने गरी सम्झौता भएको अध्यक्ष तामाङ्गले जानकारी दिए ।

कार्यक्रममा ज्ञानबहादुर इङ्बुङ, सुमित्रा वाङ्देल, विरबहादुर रसाइली लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर