काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष प्राप्त गर्न वैकल्पिक उर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको पनि बताए ।
इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक कलेजले विकास गरेको पेट्रोल र हाइड्रोजनबाट चल्ने गाडीको सोमबार शुभारम्भ कार्यक्रममा मन्त्री दाहालले यस्ता प्रविधिको विकास र प्रवर्धनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न मन्त्रालय अग्रसर रहेको समेत आश्वासन दिए ।
औद्योगिकीकारणले विश्वव्यापी रुपमा बढिरहेको कार्वन उत्सर्जनको मार नेपालजस्ता मुलुकहरुमा समेत पर्दा हिमालदेखि समुद्रसम्म प्रदुषणको मार परिरहेको मन्त्री दाहालको भनाई छ । यस्ता विश्वव्यापी चुनौतीहरुको सामना गर्न नेपाल पनि तयार रहनु पर्ने भन्दै उनले वातावरणमैत्री र नविकरणीय इन्धनको प्रवर्धनमा जोड दिन जरुरी रहेको पनि आवश्यकता औंल्याए ।