विराटनगर । कोशी प्रदेशसभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् ।
निर्वाचन भने २८ गते शुक्रबारका लागि तोकिएको छ । उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।
आजै उम्मेदवारको नामावली प्रकाशन ५ः१५ सम्ममा हुने र दाबी विरोधका लागि ५ः१० देखि ५ः३० सम्म, दाबी विरोधमाथि छानविज ५ः३० देखि ५ः४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५ः४५ देखि ६ः०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुनेछ । निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जारी गरेको छ ।
दलहरूले टुङ्ग्याए उम्मेदवार
यसैबिच प्रदेशसभाको ७ वटै विषयगत समितिको सभापतिको उम्मेदवारको टुङ्गो लागेको छ । कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
एमालेले आफ्नो भागमा परेका समितिहरूमा होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
काङ्ग्रेसले पाउने सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद वान्तवा राईले उम्मेदवार बन्ने दलमा उपनेता हिमाल कार्कीले बताए ।
माओवादीले पाउने सार्वजनिक लेखा समितिको सभापतिमा भने राजन किराँती उम्मेदवार बन्ने दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । तीन दलले सहमति गरिसकेको कारण अन्य प्रतिस्पर्धी उम्मेदवार बन्ने सम्भावना कम छ ।
२०७९ मङ्सिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिए पनि सभापतिको निर्वाचन हुन सकेको थिएन ।