झापा । झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शङ्कास्पद मृत्यु भएको छ ।
अस्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्नीदेखि केही दुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शङ्कास्पद अवस्थामा फेला पारेको हो ।
दीक्षा एक दिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य व्यापार ‘एभरेस्ट बुचरी’मा पार्ट टाइम काम गर्दै आएकी थिइन् । उनको श्रीमान् रवि प्रसाईँ सोही ‘बुचरी’ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रवि र दीक्षासँगै ड्युटी जाने र सँगै फर्केका थिए ।
अर्को दिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै ड्युटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउन्टर सोझै देखिन्थ्यो । काउन्टरमा दीक्षालाई नदेखेपछि रविले खोजीकार्य बढाएको उनको भनाई छ ।
छोरी दीक्षा हराएकी रहिछ, दीक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, ‘अघिल्लो दिन गफ गरेकी छोरीलाई पटक–पटक फोन गर्दा लागेन अनि ज्वाइँ रविलाई गरेपछि मात्रै हराएको कुरा थाहा भएको थियो’ ।
सिड्नी सहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ सहरमा कतै झुक्किई होला भन्ने लाग्दै ज्वाइँलाई खोज्न आग्रह गरे ।’ सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराए लगत्तै रविलाई फोन गरेर पुलिस केश गर्न भनिन् ।
रविले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दीक्षालाई न रविले नै भेटे न स्थानीयले । रविले सिड्नी पुलिस स्टेसन पुगेर बेपत्ता भएकी पत्नी खोजी दिन भन्दै निवेदन गरेका थिए ।
अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयानुसार १०:४ बजे पसलबाट निस्किएकी दीक्षालाई झन्डै २५ किलोमिटर दुरीमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शङ्कास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुसन्धानकै क्रम रहेकाले उनको शव हालसम्म परिवारलाई दिएको छैन ।
२०५३ सालमा जन्म भई २७ वर्षकी दीक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शङ्कास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भने पनि आत्महत्या दुरुत्साहनको कानुनी प्रक्रिया अघि बढाउने दीक्षाको माइती पक्षको भनाइ छ ।
घटनाको हुलियाको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दीक्षाको माइततिर ‘सुसाइड’ घटना हो भनेर खबर गरेपछि घटना शङ्कास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ ।
अनामनगरस्थित श्रीकृष्ण प्रसाईँका छोरा रविले गत २०८० असार २९ गते दीक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए ।
बिहेपछि रविका लागि दीक्षा दोस्रो पत्नी बनिन्। बिहेपछि सिड्नीकै पिआर कार्ड प्राप्त रबी अस्ट्रेलिया प्रस्थान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्नीसँग सम्बन्ध विच्छेद गरेर बसेका रबी र विदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध विच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी विवाह भएको थियो ।
रविको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छन् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा ‘चाइल्ड हेल्प’ अन्तर्गत रविले नै लालनपालनको खर्च बेहोर्दै आएका छन् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।