- कविता पौड्याल
भाद्र महिनाको शुक्लपक्षको तृतिया तिथीका दिन हरितालिका तीज मनाइने गरिन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुल्क तृतियाका दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरुले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
हिन्दू समाजमा परापूर्वकालदेखि नै एक महत्वपूर्ण पर्वको रुपमा हरितालिका तीजलाई मनाउने गरेको पाइन्छ । तीज पर्वमा निराहार ब्रत बसेर पार्वतीसहित भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ । महान पर्वको रुपमा मानिने तीज नारीहरुको पर्वको रुपमा अडेको थियो । माइती र चेलीको पवित्र सम्बन्धमा अझ मिठासपन ल्याउने यो पर्व सुखदुःख साट्दै अघिबढेको थियो । वर्षभर विभिन्न जिम्मेवारी बहन गरेकी चेली एक दिन भएपनि माइतीको समिपमा रहेर सारा दुःख पीडा भुल्थिन् । बाबा, आमाको काख अनि माइतीको माया र संरक्षणमा खुसी रहन्थिन् । नन्द र सासूको व्यवहारलाई भाका बनाई गीत गाएर तथा नाचगान गरेर रमाइलो गर्दै ब्रत बसी सामुहिक पूजा लगाउने गरिन्थ्यो ।
पछिल्लो केही वर्षसम्म अनेक दुःख कष्ट सहने शक्ति वा सामाथ्र्य जुटाउने गर्थे । चेलीका वास्तविक कथा र वेदना सुन्दा माइतीहरु नै भावुक हुने अवस्था हुन्थ्यो । वास्तवमा त्यसबेला घरका सासू, ससुरालाई फकाएर, अनुमति लिएर आफ्ना चेलीहरुलाई दर खुवाउन माइतीमा ल्याउन पनि मुस्किल हुने गथ्र्यो । त्यसताका घरमा खिर ढकने अनि पक्वान पकाएर चेलीहरुलाई सात्विक भोजन गराउने गरिन्थ्यो ।
समय बलवान रहेछ । परिवर्तनले यो तीज पर्वलाई पनि छोडेन । आधुनिक तरिकाबाट यो पर्व मनाउन थालियो । चाहे त्यो बुझेर होस् वा देखासिखीले नै किन नहोस् । तीजको मौलिक पक्षलाई बिर्सिएर व्यवसायिक र छाडा प्रवृत्तिका गीतहरु गाउने, फेसनका कपडा र गरगहना देखाउने अरुका लागि पूजा लगायतका कार्यक्रमहरु गर्ने, गराउने गर्न थालियो । दरका नाममा महिनौ अगाडिदेखि सार्वजनिक रुपमा सामुहिक भोजका कार्यक्रमहरुको आयोजना गरिनाले तीजमा विकृति निम्त्याएको छ । नारीको पर्व भनेर चिनिएको यो तीज पुरुष विना असम्भव झैं भयो । बीच बीचमा पुरुष पनि नाच्नै पर्ने पो भयो । वर्ष दिनमा एक दिन आफन्त आमा, दिदीबहिनी भेला भएर मनाउने यो पर्व एक महिनाले पनि भ्याउन नसक्ने जस्तो देखियो ।
पहिले झ्याउरे गीत साथै संगिनीका भाका गाएर रमाइलो गर्ने गरिन्थ्यो भने अहिले डिस्को र हिपहपको प्रतिष्पर्धालाई रोक्न नसकिने देखियो । होटल र पार्टी प्यालेसहरुमा पुलाउ, मासु, रक्सी र वियरको दर शुरु भयो । त्यसैले त भन्न मन लाग्छ कि सभ्य भई हामीले आफ्नो संस्कारलाई अंगाल्न आवश्यक छ । यस समाजमा देख्ने र देखाउनेको होडबाजीलाई हटाउँदै जानु पर्दछ । सासूलाई आमा समान र बुहारीलाई छोरी समान व्यवहार गर्नु पर्दछ भन्ने भाव हामी हरेक नारीमा हुनु पर्दछ । अनिमात्र हामी यो समाजमा रहेका कुसंस्कार र विकृतिहरु चिर्न सफल हुन्छौं । आप्mनै संस्कार, संस्कृतिमा रमाई विकृति एवम् असमानताहरु त्याग्दै यो महान पर्वलाई सार्थक बनाउन सकिन्छ । आफ्नै घरमा सात्विक भोजन खाएर रमाइलो गरी वा सामुहिक कार्यक्रमहरु पनि एकदमै कम खर्चमा समावेशी रुपमा मनाउन सकिन्छ । होडबाजी, बेविचार र अतिवाद हटाउन सके मात्र तीज पर्वले सार्थकता पाउँछ ।
अन्त्यमा, हरितालिका तीज २०८१ को पावन अवसरमा सम्पूर्ण हिन्दू नारीहरुमा सुख, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् अटल सौभाग्यको कामनासहित हार्दिक मंगलमय शुभकामना ।
लेखक नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको महिला सशक्तिकरण उपसमितिका संयोजक हुन् ।