बिर्तामोड । झापा बिर्तामोडका एक व्यक्तिको भारतमा भएको सडक दुर्घटनामा मृत्यु भएको छ ।
तीर्थयात्रीहरु लिएर भारत वृन्दावन गएको बस दुर्घटनामा अन्दाजी ४५ वर्षका धर्मेन्द्र भुजेलको मृत्यु भएको हो । सुनसरीको इनरुवा घर भई बिर्तामोड-४ पुरानो बिजुली अफिसछेउमा बस्दै आएका उनी बस स्टाफ हुन् ।
बिर्तामोडका करिब २६ जना तीर्थयात्रीको टोली लिएर भुजेल भदौ ४ गते मथुराको वृन्दावन गएका थिए । भदौ ९ गते श्रीकृष्ण जन्माष्टमीको राति भुजेल दुर्घटनामा परेको जनाइएको छ ।
गाडी पार्किङ गर्ने क्रममा आफ्नो बसको ढोकाबाट उत्रिने बेलामा उनलाई पछाडिबाट लहरीले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुर्घटनापछि भुजेलसँगै गएका बस मालिकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । सो घटनापछि बिर्तामोडबाट गएका तीर्थयात्रीहरु अलपत्र परेको बताइएको छ ।
मृतकको शव आज घर आइपुग्ने छिमेकीले बताएका छन् । बिर्तामोडको बस वृन्दावनमा दुर्घटनामा परेको र तीर्थयात्रीहरु अलपत्र परेको विषयमा बुझ्ने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।