![](https://sajhamanch.com/wp-content/uploads/2024/08/Ekikrit-Samajbadi-Central-commitee-meeting-20810510.jpg)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदैछ ।
सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको जनाइएको छ ।
मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन लगायत कार्यक्रम हुनेछन् ।
त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा हस्ताक्षर गरी प्रकाशित निर्वाचन कार्यतालिकामा उल्लेख छ ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र चयन गरेको थियो ।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।