
काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंहले महिलाका हकअधिकारका आवाज उठाएको बताएका छन्।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवीको २८ औं स्मृति दिवसमा सोमबार शोभा भगवती डल्लुमा भएको कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले मंगलादेवीले नेपाली महिलाहरूको हक र अधिकारका विषयमा आवाज उठाएको स्मरण गरेका हुन्।
‘नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ उनले भने, ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो।’
मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले मंगलादेवी सिंह नेपाली महिलाहरूका लागि प्रेरणा रहेको भन्दै महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताइन्।
महिलाको हक, अधिकारलाई सुरक्षित बनाउन विसं २००४ साउन २४ गते मंगलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई महिला संघको स्थापना भएको थियो।
महिलाले पढ्न पाउनुपर्छ भन्दै दिएको दबाबका कारण पद्मशमशेर राणा पद्मकन्या क्याम्पस खोल्न तयार रहेको पनि उनको भनाइ छ।