बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २८औं वार्षिकोत्सव तथा ३०औं साधारणसभा अन्तरगत आज बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको छ । यसअघि नै ६ वटा इकाइगत साधारणसभा सम्पन्न गरेको संस्थाको यो सातौं कार्यक्रम हो ।
बिर्तामोड सेवा कार्यालयका संयोजक उत्तम खनालको अध्यक्षतामा आयोजित इकाइगत साधारणसभाको प्रमुख आतिथ्य बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले गरेकी थिइन् ।
साधारणसभामा मन्तब्य राख्दै नगरप्रमुख प्रसाईंले राज्यले बनाएको ऐन कानून सबै नागरिकले आनिवार्य पालना गर्नुपर्ने भएकाले सहकारीबाट लगेको ऋण तिर्दिन भन्न नपाइने बताइन् । नियम कानूनलाई तत्काल तोडें भनेर खसी हुनुभन्दा पछि कारबाहीमा परिन्छ भन्नेमा डराउनु पर्ने उनको सुझाव थियो ।
इकाइगत साधारणसभामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सञ्चालक समितिको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य कृष्णप्रसाद दाहालले वाचन गरेका थिए ।
यस्तै संस्थाको बजेटसहित लेखा परीक्षण प्रतिवेदन प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले प्रस्तुत गर्दै मेची सहकारी अन्य संस्थाहरुभन्दा अब्बल रहेको बताए । इकाईगत साधारणसभामा लेखा परीक्षकको प्रतिवेदन, वार्षिक कार्यक्रम, अनुमानित आय–ब्यय माथि छलफल गरिएको छ ।
झापाको दमकमा २०५४ साल भदौ १२ गते स्थापित संस्थाको कार्यक्षेत्र झापा पछि मोरङ र इलाममा विस्तार गरिएको छ । हाल १२ वटा सेवाकेन्द्र मार्फत् संस्थाले सदस्य केन्द्रित कारोबार गरिरहेको छ । सहकारीको साधारणसभा सम्बन्धी नयाँ नीति अनुसार सेवा केन्द्रहरुमा एउटै कार्यसूचिमा साउन २८ गतेदेखि भदौ ३ गतेसम्म इकाइगत साधारणसभा भइरहेको हो ।
बिर्तामोड सेवा कार्यालय व्यवस्थापन समितिका सदस्य गणेश पोखरेलले सञ्चालन गरेको इकाइगत साधारणसभामा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई सेवा कार्यालय व्यवस्थापन समितिका सहसंयोजक विष्णुमाया आचार्यले शाब्दिक स्वागत गरेकी थिइन् । साधारणसभालाई बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले सम्बोधन गरेका थिए ।
‘एकता, सहभागिता, मितव्ययिता र पारदर्शिता मेची सहकारीको प्रतिवद्धता’ भन्ने थीममा आधारित रहेर सञ्चालित मेची बहुउद्देश्यीय सहकारीको २०८१ असार मसान्तको सेयर पूँजी ३७ करोड १८ लाख ९० हजार ४०० रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
३ अर्ब ८७ करोड ८६ लाख ३८ हजार ३६३ रुपैयाँको वासलात बनाएको संस्थामा कूल बचत तथा निक्षेप रकम ३ अर्ब ६ करोड ७१ लाख ३७ हजार ४३० रुपैयाँ रहेको छ । संस्थामा गत असार मसान्तमा दीर्घकालिन प्रकृतिको बचत ६२ दशमलव ७२ प्रतिशत र अल्पकालिन प्रकृतिको निक्षेप ३७ दशमलव २८ प्रतिशत रहेकाले मेची सहकारीको विश्वसनियतामा अझ वृद्धि गराएको बताइन्छ ।
असार मसान्त सम्ममा संस्थाले ३ अर्ब २९ करोड ७३ लाख ९८ हजार १९५ रुपैयाँ सदस्यहरु माझ कर्जा लगानी गरिसकेको छ । संंस्थाको जगेडा कोषमा ३४ करोड ४१ लाख १५ हजार ४७२ रुपैयाँ जम्मा भएको छ भने संस्थाले लिएको बाह्य कर्जा गत आर्थिक वर्षको भन्दा ८२ दशमलव २० प्रतिशतले घटाएर ६ करोड ९६ लाख ४९ हजार २१३ मा सिमित गरिएको छ ।
गत असार मसान्तमा संस्थामा ३८ करोड ३९ लाख २२ हजार ४०९ रुपैयाँ तरलता रहेको वित्तीय विवरणमा जनाइएको छ । गत आवमा संस्थाले ९ करोड ७५ लाख ९५ हजार खुद नाफा गरेको छ र सेयर सदस्यहरुलाई १० दशमलव ५ प्रतिशत शेयर बोनस प्रदान गर्ने प्रस्ताव गरिएको छ ।