२०८१ पौष २६, शुक्रवार , ११:३२:०२ बजे

Sajhamanch
'

समुदायमा सहकारी २ : सिम्रिक साकोसको योगदान १,६८,६६,६८७

बुधवार, साउन २३, २०८१

झापा । देशका धेरै सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगै समुदायको उन्नयनका लागि काम गरिरहेको देखेर कतिपय तत्वहरुले अभियान माथि नै असर पुग्नेगरी विष वमन गर्न छाडेका छैनन् । तर सदस्यद्वारा स्थापित र सदस्यकै लागि सञ्चालित वित्तीय क्षेत्र सहकारीले आफ्ना सदस्य एवम् समुदायका लागि योगदानमा निरन्तरता दिइरहेका छन् ।

पछिल्ला केही वर्षदेखि सहकारी संस्थाहरुबीच वित्तीय कारोबारमा अघोषित प्रतिष्पर्धा हुँदा सदस्यलाई सुविधा प्रदान गर्ने होडबाजीजस्तै चल्ने गरेको छ । सदस्य विस्तार गरी बचत वृद्धि गर्ने उद्देश्यले एउटाले भन्दा अर्को संस्थाले सदस्यलाई बढी सुविधा प्रदान गर्ने योजनाहरु बिस्तार गरिरहेका छन् । र, सर्वसाधारणले पनि सहकारी संस्थाको सदस्य बन्नका लागि त्यहाँबाट पाइने सुविधा र आफ्नो रकमको सुरक्षाका विषयमा पूर्व जानकारी लिन थालेका छन् ।

समुदायमा सहकारी शृङ्खलामा विभिन्न सहकारी संस्थाहरुले सदस्य एवम् समुदायका लागि पुर्याइरहेको योगदानका बारेमा चर्चा गरिँदै आएको छ । सोहीक्रमको दोस्रो शृङ्खलामा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडको विवरण समावेश गरिएको छ ।

कोशी प्रदेशको चारवटा जिल्लामा कार्यक्षेत्र विस्तारित झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा आफ्ना सदस्य, सदस्यका परिवार र समुदायका लागि १ करोड ६८ लाख ६६ हजार ६८७ रुपैयाँ राहत तथा सुविधा वापत वितरण गरेको छ ।

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको तथा कोशी प्रदेशका मोरङ र इलाम र पाँचथर जिल्लालाई समेत कार्यक्षेत्र बनाएको सो सहकारी संस्थाले १४ वटा शीर्षकमा उक्त रकम सदस्यको उपचार सुविधा, मृत्यु राहत, कर्जा मिनाहा तथा अन्य सामाजिक कार्यमा खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।

संस्थाका लेखा विभाग प्रमुख कमला प्रधानले उपलब्ध गराएको तथ्याङ्क अनुसार संस्थाका सदस्य तथा तिनको आश्रित परिवारको स्वास्थ्य उपचारमा १ करोड ८ लाख ५० हजार २६ रुपैयाँ खर्च भएको छ । उक्त संस्थाले सदस्य र तिनको परिवारमा कसैलाई प्राणघातक रोग लागेर उपचार गर्नुपरेमा फरक सुविधा प्रदान गर्ने गरेको छ । यसरी नै अस्पताल बसेर गरिने सामान्य उपचार एवम् शल्यक्रियाहरुलाई अर्को वर्गमा राखेर सदस्यले सुविधा पाउँदै आएका लेखा विभाग प्रमुख प्रधानले बताइन् ।

सिम्रिक साकोसले विशेष कोषको व्यवस्था गरी संस्थाका ऋणि सदस्यहरुको मृत्यु भएमा उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गर्ने नीति बनाएको छ । सोही अनुसार गत आर्थिक वर्षमा ३७ लाख २ हजार २८४ रुपैयाँ कर्जा मिनाहा गरिएको तथ्याङ्क छ ।

संस्थाका सदस्य एवम् तिनको परिवारमा कसैको निधन भएमा समवेदना र मानोचामल लिएर जाने प्रचलनलाई सिम्रिकले निरन्तरता दिँदा गत आवमा १ लाख ९५ हजार रुपैयाँ खर्च भएको देखाइएको छ । संस्थाले सदस्य परिवारमा हुने जन्मदेखि मृत्युसम्मका हरेक सुख दःुखका घटनामा अभिभावकत्व दर्शाउँदै यस्तो राहत र सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था गरेको हो ।

सिम्रिक साकोसले बाल बचतकर्ता एवम् विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेको छ । सो प्रयोजनका लागि गत आवमा ८ लाख ८७ हजार ९७२ रुपैयाँ बराबरको शैक्षिक सामग्री प्रदा नगरिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै ज्येष्ठ नागरिक सम्मानमा २ लाख ९९ हजार १७३ रुपैयाँ प्रदान गरेको सिम्रिक साकोसले कार्यक्षेत्रका विभिन्न स्थानमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालन गर्न ३ लाख ८० हजार ३२६ रुपैयाँ खर्च गरेको जनाइएको छ ।

संस्थाले सामुदायिक कार्यतर्फ खेलकुद प्रतियोगितामा ३ लाख ८ हजार रुपैयाँ खर्चेको छ । संस्थाले सरसफाई र वृक्षारोपण, नेत्रहिन तथा अपाङ्गता भएकाहरुलाई सहयोग, प्रहरी विट निर्माण सहयोग, टोलविकास संस्थाको बोर्ड सौजन्य, पुराण सहयोग लगायतमा पनि सहयोग प्रदान गरेको उल्लेख छ ।

सहकारी अभियानप्रति नकारात्मक दृष्टि राख्नेहरु एवम् अफवाह फैलाउनेहरुका लागि संस्थाले यसरी रकम वितरण गर्नु अर्को मसला बन्न सक्ला । कतिपय सहकारी संस्थाको वासलात अंकभन्दा बढी समुदायलाई सहायता वितरण गर्नसक्ने क्षमता राख्ने सहकारी संस्थाहरुमध्ये झापामा नै धेरै छन् । तिनै मध्येको एक सिम्रिक साकोसले समुदाय र सदस्यको लागि गरेको खर्चलाई उल्लेखनीय योगदान मान्न सकिन्छ ।

सम्बन्धित खबर