२०८१ मंसिर ७, शुक्रवार , १०:३३:३८ बजे

Sajhamanch
'

एकवर्षमा १४ हजार ७ सय जनाले लिए व्यक्तिगत पान

शुक्रवार, साउन १८, २०८१

झापा । पछिल्लो समय पारिश्रमिक भुक्तानीमा पान नम्बर अनिवार्य गरिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेहरुको संख्या बढेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट १४ हजार ७०० जनाले व्यक्तिगत पान नम्बर लिएका छन् ।

कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेका अनुसार योसँगै कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिनेको संख्या कूल ९६ हजार ४१५ पुगेको छ ।

आर्थिक वर्ष २०७९/०८० सम्ममा ८१ हजार ७१५ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (पान) लिएका थिए । एक वर्षमा व्यक्तिगत पान लिने १४ हजार ७०० जना थपिएका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा आयकर, मूल्य अभिवृद्धि कर भ्याट, अन्तःशुल्क, अग्रिम कर कट्टी र व्यक्तिगत पान लिने १९ हजार ६६२ जना नयाँ करदाता थपिएका उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/०८० सम्म यो संख्या एकलाख ३८ हजार ४३६ रहेको थियो । एक वर्षमा नयाँ थपिएका करदातासहित कूल एकलाख ५३ हजार ९३९ जना करदाता रहेका कार्यालयको अभिलेखमा उल्लेख छ ।

गत आवमा अग्रिम कर कट्टी गर्ने २२ वटा निकायले मात्र स्थायी लेखा नम्बर लिएका छन् । यो संख्या आर्थिक वर्ष २०७९/०८० सम्म ३१४ रहेकोमा थपिएकासहित यो संख्या ३३६ रहेको कार्यालय प्रमुख काफ्लेले बताए ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ दर्ता हुने करदाताको संख्या छ हजार ३३३ पुगेको छ । एक वर्षमा ४३६ जना मूल्य अभिवृद्धि करतर्फ दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० सम्म यो संख्या ५ हजार ८९७ रहेको कार्यालयले जनाएको छ ।

अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने ३ हजार ९२९ पुगेको छ । गत आर्थिक वर्षमा १९६ करदाता अन्तःशुल्कमा दर्ता भएका थिए । सबैभन्दा बढी आयकरतर्फ ४६ हजार ९२६ जना करदाता रहेका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा थपिएका कूल २ हजार २२८ र यस आर्थिक वर्ष अघिसम्मका कूल ४४ हजार ६९८ सहित आन्तरिक राजस्व कार्यालय भद्रपुरमा आयकरतर्फ ४६ हजार ९२६ जना करदाता पुगेका बताइएको छ ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्रअन्तर्गत झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, कनकाई र अर्जुनधारा नगरपालिका तथा बाह्रदशी, बुद्धशान्ति, कचनकवल, झापा र हल्दिवारी गाउँपालिका रहेका छन् ।

कोशी प्रदेशका झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी चारवटा जिल्लाका ठूला करदाताहरुलाई भद्रपुर कार्यालयले सेवा प्रवाह गर्दै आएको छ । यद्यपि करदाताको सुविधाका लागि सो कार्यालय मातहत रहनेगरी प्रत्येक जिल्लामा करदाता सेवा कार्यालय रहेका छन् ।

करचुक्ता प्रमाणपत्र प्रदान गर्ने, विभिन्न प्रकारका कर संकलन गर्ने लगायतका काम सेवा केन्द्रले गरेपनि ठूल्ठूला मुद्दा मामिला आए आन्तरिक राजस्व कार्यालय भद्रपुरले हेर्ने प्रमुख कर अधिकृत काफ्ले बताउँछन् ।

सम्बन्धित खबर