झापा । गत आर्थिक वर्ष २०८०–८१ मा झापा जिल्लामा ३३४ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो अवधिमा २२१ जना पुरुष र ११३ जना महिलाले आत्महत्या गरेका हुन् ।
तीमध्ये सबैभन्दा धेरै २९१ जनाले झुन्डिएर, ४१ जनाले विष खाएर, एक जनाले आत्मदाह गरेर र एक जनाले हातहतियार प्रयोग गरेर आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।
आव २०७८–०७९ मा २२२ पुरुष र ९२ महिला गरी ३१४ जना, आव २०७९–०८० मा १८८ पुरुष र १२९ महिला गरी ३१७ जनाले आत्महत्या गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा आत्महत्या गर्नेको संख्या १७ ले बढेर ३३४ पुगेको छ ।
तीन वर्षे अवधिको तथ्यांकले झापामा प्रत्येक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दोक्रममा रहेको देखाएको छ । सो तथ्यांक अनुसार आत्महत्या गरेकामध्ये पुरुषको संख्या धेरै छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी कृष्णकुमार चन्द झापामा आत्महत्या गर्नेहरुको संख्या दिनानुदिन बढिरहनु चिन्ताको विषय भएको बताउँछन् ।
आत्महत्या विभिन्न कारणले हुने गरेको बताउँदै उनले ती कारण पहिल्याएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।