काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव आफन्तले बुझेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विमान दुर्घटनामा मृत्यु भएका १८ मध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।
मृतक एक विदेशीको प्रक्रिया पुर्याएर शव व्यवस्थापन गरिने उनले बताए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षणपछि शुक्रबार र शनिबार आफन्तले शव बुझेका हुन् ।
शुक्रबार ५ जना र शनिबार १२ जनाले शव बुझेका हुन् । यही साउन ९ गते बुधबार सौर्य एयरलाइन्सको विमान उड्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार चालक दलका सदस्यसहित १९ मध्ये १८ जनाको मृत्यु भएको थियो ।
सोही दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य बाँच्न सफल भएका छन् । दुर्घटनामा घाइते क्याप्टेन शाक्यलाई तत्काल उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याई सघन उपचारकक्षमा उपचार गरिएको थियो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।