२०८१ पौष २६, शुक्रवार , ०२:१५:२८ बजे

Sajhamanch
'

आरक्षण विरुद्ध बंगलादेशमा चर्किएको प्रदर्शनमा २५०० बढी पक्राउ

मङ्गलवार, साउन ८, २०८१

झापा । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या २ हजार ५०० नाघेको छ ।

एएफपीले मंगलबार सार्वजनिक गरेको आँकडा अनुसार देशभर आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको संख्या सो स्तरमा नाघेको हो । विरोध प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ ।

मर्नेमा कयौं प्रहरी अधिकारीसमेत छन् । सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने संग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो ।

शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको संख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको संख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।

तर, विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नुपर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ ।

प्रदर्शन रोक्न देशभरमा कफ्र्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।