२०८१ कार्तिक ३, शनिवार , ११:१०:४२ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिकाद्वारा सिलाई मेसिन वितरण

सोमवार, असार ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशील महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई इलेकट्रोनिक्स मेसिन वितरण गरिएको हो ।

इलेकट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघु उद्यमी समूह र सृजनशील लघु उद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिइन् । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईँले स्वरोजगार बन्नका लागि नगरले प्रदान गरेको मेसिन सदुपयोग गर्न आग्रह गरिन् । उनले यसअघि बाँडिएका विभिन्न प्रकारका प्रविधिको उपयोग भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन गर्ने पनि बताइन् । नगर प्रमुख प्रसाईँले उद्योग स्थापना गर्न नसक्नेले पनि सिपलाई रोजगारसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडेर जीविकोपार्जन गर्न सक्ने बताइन् ।

नगरपालिकाले लघु उद्यमी बन्नका लागि सिपमूलक तालिम प्रदान गरेर प्रविधि हस्तान्तरण गर्दै आएको छ ।
आर्थिक विकास समिति संयोजक सङ्गीता शिवाको अध्यक्षतामा आयोजित प्रविधि हस्तान्तरण कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, कार्यपालिका सदस्य तिला गौतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईँलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर