मेचीनगर । कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले कोशी प्रदेशको नामकरण विवेक पुर्याएर गरिएको बताएका छन् ।
भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टामा आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको २११ औं जन्म जयन्ती विशेष समारोहमा उनले यस्तो बताएका हुन् ।
ऋषिमुनीहरुले बसोबास गरेको दिव्य भूमि कोशीमा प्रदेशको नाम राख्दै गर्दा कुनै पछुतो नभएको मन्त्री कार्कीको भनाई थियो ।
“कोशी नामप्रति चुनौति अझै कायमै रहे पनि बहुभाषिक, बहुधार्मिक कोशीको पहिचान हो” उनले भने, “संसद्का ९३ प्रतिशतले कोशी नामलाई सर्वसम्मत गरेकोमा सन्तुष्ट छु, सोच्दै, बुझ्दै गर्दा नाम ठीक राखेछौं ।”
भाषिक एकीकरणमा भानुभक्त आचार्यको योगदनाबारे चर्चा गर्दै मन्त्री कार्कीले आदिकवि आचार्यले भाषा, साहित्य र संस्कृतिलाई जोडेर अविष्मरणीय गुण लगाएको बताए ।
सो अवसरमा भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित प्रा.डा.जगमान गुरुङले कोशी प्रदेश साझा नाम भएकाले सर्वस्वीकार्य रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि रहेका उनले ऋषिमुनीको बसोबासस्थल कोशी प्रदेश पवित्र भूमि रहेको चर्चा गरे । त्यसक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. गुरुङको व्यक्तित्वबारे पत्रकार चन्द्र भण्डारीले चर्चा गरेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवं डीएसपी मीमबहादुर लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठ लगायतले कविता वाचन गरेका थिए ।