काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रको अस्थिर चरित्रबाट आजित भएर कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको बताएका छन् ।
कांग्रेस पर्साले बिहीवार वीरगन्जमा गरेको कार्यक्रममा उनले गठबन्धन फेर्दै माओवादी केन्द्रले कांग्रेस र एमालेलाई आजित बनाइसकेपछि एक ठाउँमा आएको बताए ।
‘कांग्रेससँग गठबन्धन गरेर ३२ सिट ल्याए, सरकार बनाउने बेला एमालेसँग मिले । एमालेसँगै मिलेर गएको भए भइहाल्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौँ। दुई महिनापछि कांग्रेससँग मिल्यो भने फेरि एमालेसँग मिल्यो । त्यसपछि हामीले सोचेर, विचार गरेर नै कांग्रेस र एमाले समीकरण गर्ने सहमति गरेको हौँ,’ नेता कोइरालाले भने ।
एमालेसँग समीकरण गर्ने कुरा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल निर्णय नभएको भन्दै उनले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।