२०८१ कार्तिक ८, बिहिवार , ०४:२९:५० बजे

Sajhamanch
'

एनएमसी एग्रो फार्मले गर्यो राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम

आइतवार, असार १६, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित एनएमसी एग्रो फार्मले २१ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव विशेष कार्यक्रम गरेको छ ।

“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने नारासहित शनिवार मेचीनगर–१४ दुहागढीस्थित फार्म परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।

कृषि ज्ञान केन्द्र झापाको सहकार्यमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नगरले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताइन् ।

“आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कृषिमा जोड गरेका छौं” कार्यक्रमकी प्रमुख अतिथि उप्रेतीले भनिन्, “त्यसअघि नगरले कृषिक्षेत्रको सुधारका लागि सम्बद्ध व्यक्तित्वसँग राय, सल्लाह र सुझावसमेत लिएको छ ।”

“नगरको वडा नम्बर ७, १४ र १५ लाई विशेषगरी धान जोन, मकै जोन र माछा हब बनाउने सोच बनाउँदै आएका छौं” उनले भनिन्, “तर, कृषिको जमिनै छैन कि जस्तो भएर जग्गाको वर्गीकरणमा आएको छ ।”

त्यसक्रममा एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले कार्यक्रमको आवश्यकतामाथि प्रकाश पार्दै एग्रो फार्मको विकासक्रम र अवधारणा अवगत गराएका थिए ।

उनले सरकार र ज्ञानकेन्द्रसँग सहकार्य गरेर कृषिको लागत घटाउने, कृषिमा यान्त्रिकीकरण गर्ने, कृषकलाई राहत दिने लगायत कार्यक्रम गरिएको बताए ।

‘कृषकका खेतका गह्रा सम्याउन वडाले बजेट छुट्याए कृषकलाई सुविधा हुने गरी हामी सहुलियत शुल्कमा काम गर्न तयार छौं ।’, सहकारी अभियन्ता उप्रेतीले भने ।

सो अवसरमा कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर विष्ट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई झापाका कार्यालय प्रमुख रविन्द्र सुवेदी, जाइका प्राविधिक सहायता परियोजनाका कृषिविज्ञ भूमि काफ्ले, भद्रपुर–९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, मेचीनगर–१४ का पूर्ववडा अध्यक्ष शंकर पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एनएमसीका कार्यकारी प्रमुख लक्ष्मीप्रसाद उप्रेती लगायतको उपस्थिति रहेको कार्यक्रममा एग्रो फार्म प्रशासन विभाग प्रमुख दिवश खतिवडाले कस्टम हायरिङ सेवाबाट प्राप्त आम्दानी प्रस्तुत गरेका थिए ।

एग्रो फार्म व्यवसाय उपसमिति संयोजक हिराप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा शाब्दिक स्वागत उपसमिति सदस्य पदमलाल गौतम र सञ्चालन एग्रो व्यवसाय प्रमुख भूपाल गौतमले गरेका थिए ।

औपचारिक कार्यक्रमपछि प्रमुख अतिथि उप्रेतीले धान रोप्न खेतमा गुडाइएको मेसिनमा बसेर रोपाईं महोत्सवको सुरुवात गरेकी थिइन् । एनएमसीको उक्त मेसिनले रोपाईंका लागि तयार गरिएको फार्मको १२ कठ्ठा खेतमा रवि र बीना प्रजातिका धान रोपेको थियो ।

रोपाईं भइरहँदा कार्यक्रमका अतिथि, सहभागी लगायत स्थानीयले अवलोकन गरेका थिए । एनएमसीको सो मेसिन उपकरण प्रयोग गरी १०७ बिघा खेतमा अहिले बर्खे धानको रोपाईं धमाधम भइरहेको छ ।

कृषि ज्ञान केन्द्र झापासँग सहकार्य गरी ५० प्रतिशत लागत सहभागितामा ८ वटा कृषक समूह, कृषि सहकारी र कृषि फार्मको खेतमा रोपाईं भइरहेको हो ।