झापा । कोशी प्रदेश सरकारले झापाको कनकाई घाटमा विद्युतिय शवदाह गृह निर्माणका लागि २ करोड रुपैयाँको मेशिन उपलब्ध गराउने भएको छ ।
विद्युतिय शवदाह गृह बनाउन ३ करोड रुपैयाँ लागत पूर्वानुमान गरिएकोमा बाँकी १ करोड रुपैयाँ स्थानीय पालिकाले व्यर्होने बताइएको छ ।
त्यस्तै, सिँचाईका लागि कनकाई नहरको एक किलोमिटरमा सोलार प्यानल राखिने प्रदेशका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले बताए ।
सोलार प्यानलका लागि डिप ट्युवेल गाडेर विद्युतको नेशनल ग्रिडमा जोडिने जनाइएको छ । किसानलाई आवश्यक परेका बेला सोलार प्यानलसँग जोड्ने र काम सकिएपछि उक्त विद्युत नेशनल ग्रिडमा जोडिने बताइएको छ ।
३ करोड रुपैयाँको लगानीमा उक्त कामको परीक्षण गरिने छ । उक्त मन्त्रालयले कृषकलाई सिँचाईका लागि ४ इन्चको मोटर (सेलो डिप बोरिङ) निःशुल्क दिने भएको छ ।
यसैगरी, संघीय सरकारबाट सञ्चालित योजनाहरुमध्ये १० प्रतिशत विपन्न परिवारलाई मिटरसहितको धारा निःशुल्क दिइने सो मन्त्रालयले जनाएको छ ।
खानेपानी नीति अनुसार मिटरसहितको धारा मधेशका ५०० घरलाई ५ करोड, हिमाली क्षेत्रका ५० घरलाई ५० लाख तथा चुरे र पहाडी क्षेत्रका १०० घरलाई १ करोड रुपैयाँ बजेट छुट्याएर कामअघि बढिरहेको मन्त्री कार्कीको भनाई छ ।
एउटा मिटरसहितको धारा बराबरको १० हजार धरौटी रुपैयाँ १० प्रतिशत विपन्न परिवारलाई छूट गरिने मन्त्रालयले जनाएको छ ।